PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

यातायात मन्त्रीको निर्देशनः चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी बनाउ



रासस

यातायात मन्त्रीको निर्देशनः चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी बनाउ

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले आफ्नो मातहतका कार्यालय प्रमुखलाई सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। 

मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग र सवारी चालक अनुमति कार्यालयका प्रमुखलाई बोलाएर मन्त्री बलायरले सवारी साधनको चालक अनुमतिपत्र लिन जटिल रहेको सेवाग्राहीबाट गुनासो आइरहेकाले तत्काल यसलाई सरल र सहज बनाउन निर्देशन दिँदै त्यसको वितरण प्रक्रियालाई प्रभावकारी बनाउन नसक्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए। 

वैज्ञानिक ढङ्गबाट लिइने परीक्षामा सफल उम्मेदवारलाई एकाबिहानै कार्यालयमा पुगेर लाइन बस्नुपर्ने बाध्यताको चाँडो अन्त्य गरिने उनको भनाइ थियो।

मन्त्री बलायरले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति कार्यालयमा जडान गरिएको सर्भर तथा सफ्टवेयर सधैँजसो बिग्रिरहने समस्याप्रति चासो व्यक्त गर्दै राज्यको करोडौँ लगानी परेको सर्भरमा सधैँ आउने समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरे। 

उनले मन्त्रालयले दिने सेवाबाट सर्वसाधारण लाभान्वित हुनुपर्ने बताउँदै स्मार्टकार्ड १४ वटै अञ्चलबाट वितरण गर्न निर्देशन दिए। दुई दिनभित्र कार्यप्रगतिबारे जानकारी दिन आग्रह गर्दै सडकमा खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता र तीव्रता दिन सडक विभागका अधिकारीलाईसमेत निर्देशन दिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell