PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

जिसस कास्कीमा एमाले निर्विरोध, कांग्रेसले प्रस्तावक र समर्थक नै पाएन



पहिलोपोस्ट

जिसस कास्कीमा एमाले निर्विरोध, कांग्रेसले प्रस्तावक र समर्थक नै पाएन

  • नरहरि पौड्याल
पोखराः  जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमाले निर्विरोध निर्वाचित भएको छ। 

जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीलाई र उपप्रमुखमा सावित्री भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। 
नेपाली कांग्रेसले प्रस्तावक र समर्थक नपाएपछि उम्मेदवारी दर्ता नै नगराएका कारण एमालेका उम्मेदवार निर्विरोध भएका हुन्। 

निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ताको समय थियो। २० गते मतदान गर्ने गरी तालिका प्रकाशन भएको थियो।

सदस्यमा महिलाबाट गोमा अधिकारी (पोखरा-१६) र दलितबाट सीता विक (पोखरा-२१) र अल्पसंख्यकबाट रुकबहादुर कुमाल (रुपा-३) र सदस्यमा जगनमाया गुरुङ (अन्नपूर्ण-११), वृहस्पति सापकोटा (मादी-४) र तोरण बानिया (पोखरा-१५) उम्मेदवार छन्।

कास्कीमा १० मतदाता छन्। ५ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष मतदाता रहने कानुनी प्रावधान छ। १० मतदातामध्ये १ बाहेक सबै मत एमालेका हुन्।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरमात्रै कांग्रेसका मतदाता छन्। अन्नपूर्णमै उपाध्यक्ष र अरु ४ वटै तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष एमालेले जितेको छ।

जिल्ला समन्वय समितिमा उम्मेदवार हुन गाउँ वा नगरसभामा निर्वाचित भइ सपथ लिएको हुनुपर्छ। 

प्रमुखका एमाले उम्मेदवार क्षेत्री पोखरा-२८ मा वडा सदस्य निर्वाचित हुन् भने उपप्रमुख ३१ मा निर्वाचित हुन्।

सबैको प्रस्तावक पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङ र समर्थक रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा छन्। समन्वय समिति प्रमुखका उम्मेदवार क्षेत्री एमाले जिल्ला कमिटी कास्कीका कार्यालय सचिवसमेत हुन्। 

निर्वाचन अधिकृतको कार्यालयले १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका प्रकाशन गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell