PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

प्रचण्डले भने–‘अब हामी चामल बेच्न घरघर जाऔं, किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ’



पहिलोपोस्ट

प्रचण्डले भने–‘अब हामी चामल बेच्न घरघर जाऔं, किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ’

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश नं.२ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका छन्।

धनुषाको जनकपुरधाममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ। अरु पार्टीहरुले भ्रमको खेती गरेका छन्। तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ।’

उनले भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो। नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ। अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ।’

माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्दै प्रचण्डले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए।

उनले भने,‘मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्। उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन।’

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै प्रचण्डले एमाले र मधेसी दलले लिएजस्तो जाति जाति भिडाउने नारा नभएको बताए।

मधेसी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै प्रचण्डले मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको दबी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेसलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो।’

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उनले ‘कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो। विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको’ उनले स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले बासमति चामल फलायौं। तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं। तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए। अब हामी चामल बेच्न घरघर जाऔं। कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ।’

उनले एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु बलिया भए भने परिवर्तन उल्टाउँने चिन्ता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी फुट्दा जनता रोएका छन्। जनताको त्यत्रो अपेक्षा थियो। तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ।’

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने र सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पारे।

नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेसी जनताले गरेका बताए।

नेता रामबहादुर थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताए।

उनले भने, ‘प्रदेश नं. २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ। क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell