PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

यसकारण कन्काई नहर उत्कृष्ट



रासस

भद्रपुर : झापाको कन्काई नहर तराईकै उत्कृष्ट मानिएको छ । नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले नहर उत्कृष्ट मानिएको हो।

तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ सालमा तयार गरिएको नहर अहिलेसम्म चुस्त–दुरुस्त एवम् व्यवस्थित रहेको पाइएको छ। 

दक्षिण कोरिया सरकारले बनाएको नहरको अधिकांश भागमा पानी बग्ने सतह र दुवै किनारमा सिमेन्ट प्लास्टर गरी पक्की बनाइएको छ।

मूल प्रणाली ३६ किलोमिटर र यसका २२ वटा शाखा ७४ किलोमिटर गरी कुल ११० किलोमिटर फैलिएको कन्काई नहरले बर्खे र हिउँदे बालीका लागि पूरै प्रणालीमा पानी दिन्छ भने चैते धानका लागि ० देखि १२ नं शाखामा एक वर्ष र १३ देखि २१ नं शाखामा अर्को वर्ष पालो मिलाएर पानी दिने गरेको छ । 

कृषकले पालैपालो सिँचाइको व्यवस्था मिलाउँदै आएका छन्। नहरमा आश्रित कृषकले मूलबाली धान, मकै, गहुँ, तोरी र तरकारी लगाउने गरेका छन्। उनीहरूले एक बालीका लागि सिँचाइ गरेबापत एक बिगाहामा २०० पानीपोत तिर्ने गर्छन्।

धानको उत्पादकत्व प्रतिहेक्टर पाँच र गहुँको उत्पादकत्व प्रतिहेक्टर २।८ मेट्रिक टन रहेको कृषि विकास कार्यालय भद्रपुरका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिए। 

गत आर्थिक वर्षमा पानीपोतबापत सात लाख संकलन भएको थियो। झापाको माईधार नदीबाट पानी खसालेको कन्काई नहर सिँचाइ प्रणालीमा ३७० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ।

झापाको मध्य भागमा रहेको कन्काई नहर सिँचाइ प्रणालीले शिरानमा सतासीधामदेखि धरमपुर, पाँचगाछी, वैगुन्धुरा, तोपगाछी, शिवगञ्ज र महाभारा गरी आठ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ।

नहरलाई बैगुन्धारा क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको छ। बजेट अभावमा नहर विस्तार गर्न नसकेको कन्काई नहर सिँचाइ प्रणालीका प्रमुख इञ्जिनियर वीरेन्द्र यादवले बताए। 

सिँचाइ सुविधा नपुगेको क्षेत्रमा कृषकलाई सुक्खा मौसममा खेती गर्न कठिनाइ हुने गरेको छ। करिब ११ हजार १३१ घरधुरी आश्रित रहेको सो प्रणालीबाट एक लाख १२ हजार ८९३ कृषक लाभान्वित छन्।

सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले ४२ प्रतिशत खेतमा सिँचाइ सुविधा पुगेको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell