PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बबरमहलस्थित मधेसी कर्मचारी मञ्चमा राजपाको नयाँ कार्यालय



आकाश क्षेत्री

बबरमहलस्थित मधेसी कर्मचारी मञ्चमा राजपाको नयाँ कार्यालय

काठमाडौं :  राष्ट्रिय जनता पार्टी नेपालको नयाँ कार्यालय बबरमहलस्थित नेपाल मधेसी निजामती कर्मचारी मञ्चको भवनमा सरेको छ।

निजामती कर्मचारी मञ्चको भवनमा नयाँ कार्यालय केही समयको लागि मात्र भएको राजपाका नेता राजेन्द्र महतोले बताए। उनले भने, 'पार्टी कार्यालय केही समयको लागि मात्र यस भवनमा स्थापना गरिएको छ। हामी तुरुन्तै अरु विकल्प खोज्नेछौं।'

नेपाल सरकारले २०६८ सालमा मधेसी कर्मचारी मञ्चलाई भवन बनाउन बबरमहलमा उपलब्ध गराएको जग्गामा नै यो भवन बनेको छ। भवनलार्इ २०६९ सालमा शिलान्यास गरिएको थियो भने २०७२ सालमा भवनको उद्घाटन भएको थियो। मधेसी कर्मचारी मञ्चको पनि कार्यालय रहने गरी राजपासँग सम्झौता भएको हो।  

पार्टी एकीकरणपछिको पहिलो बैठक सुरु 

नयाँ कार्यालय संचालन भएसँगै राजपा पदाधिकारीबीच एकीकरणपछिको पहिलो केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ। बैठकमा राजनीतिक प्रस्ताव पेश हुने र पार्टीको कार्यसूची तयार गरिने राजपाले बताएको छ। 

बैठकमा तीन दिनसम्म संचालन हुनेछ। 

नेताहरु अझै असन्तुष्ट 

राजपाको नयाँ कार्यालय संचालन भएसँगै राजपाका अध्यक्ष मण्डलका नेता असन्तुष्ट देखिएका छन्। बैठक सुरु भएपछि बैठक हलमै नेताहरुबीच केही भनाभन पनि परेको थियो। 

अध्यक्ष मण्डलमा रहेका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्तरूपमा झण्डोत्तलन गरी कार्यालय उद्घाटन गरेका थिए भने अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव उपस्थित थिएनन्।

पार्टी एकीकरणपछि पहिलो पटक बसेको पदाधिकारी बैठकमा अध्यक्ष मण्डलका सदस्य यादवसहित उपाध्यक्षद्वय हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल तथा महामन्त्री वृजेशकुमार गुप्ता पनि सहभागी छैनन्। यिनै नेताले पार्टी गठन भएको लामो समयसम्म पनि बैठक बस्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। 

(*सच्याइएको : यसअघि समाचारमा भारतीय राजदूत मञ्जीव सिंह पुरी उपस्थित रहेको भनी उल्लेख भएको थियो। कार्यक्रममा भारतीय राजदूत पुरी उपस्थित थिएनन्। गलत तथ्य पर्न गएकोमा क्षमा याचनासहित भूल सुधार गरिएको छ- सम्पादक)







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell