PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पोखरा विमानस्थलको निर्माण सुरु, पर्यटनमन्त्रीले गरे शुभारम्भ



रासस

पोखरा विमानस्थलको निर्माण सुरु, पर्यटनमन्त्रीले गरे शुभारम्भ

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ। निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताए। 

पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे।

विमानस्थल तयार भइसकेपछि तत्काल उपयोगमा आउने किसिमले हवाई मार्ग तयलगायतका विषय पनि सँगसँगै अघि बढ्नुपर्नेमा उनले जोड दिए। 

विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा बुधबार आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी निर्माण सुरु भएको जानकारी दिए।

उनले ६० कामदार र अन्य प्राविधिक गरी हाल ११० जना निर्माण प्रक्रियामा संलग्न रहेको जानकारी दिए। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्षभन्दा बढी समयदेखिको सपना भएको उल्लेख गर्दै निर्माण कार्यको सुरुवात सम्पूर्ण पोखरेलीको गर्वको विषय भएको बताए। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवम् व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माण कार्य सकिने जानकारी दिए। 

उनका अनुसार आजको बैठकले पूर्वतयारीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चिनियाँ निर्माण कम्पनीको स्वागत गरेको छ।

हाल निर्माणाधीन विमानस्थल नजिकै रहेको ल्याण्डफिडसाइडको व्यवस्थापन गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्न प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell