PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राजपामा आन्तरिक विवाद : किन बैठकमा सहभागी भएनन् तीन हस्ति?



रमेश वाग्ले

राजपामा आन्तरिक विवाद : किन बैठकमा सहभागी भएनन् तीन हस्ति?

काठमाडौं : गत वैशाख ७ गते ६ वटा पार्टी मिलेर एक भएको राष्ट्रिय जनता पार्टीको पहिलो पदाधिकारी बैठक बुधबारदेखि काठमाडौंमा सुरु भयो। एकीकरणको लामो समयपछि निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र पाएपछि केन्द्रीय पदाधिकारी बैठकसम्म पुग्दा प्रभावशाली तीन हस्ती बैठकमा सहभागी नै भएनन्।

एकीकरण पछिको चार महिना अध्यक्ष मण्डलका ६ जना नेताको भरमा संचालित भयो। मधेसको पार्टी फुटाएर अध्यक्ष बन्ने रोगका कारण पार्टी संख्या बढेको थियो। अहिले समयले उनीहरुलाई एक बनाए पनि नेताहरुको 'पोर्टफोलियो'लाई लिएर राजपामा अहिले समस्या देखिएको छ।

अध्यक्ष मण्डलका छ मध्ये दोस्रो वरियतमा रहेका राजेन्द्र महतोलाई कुनै समय एउटै पार्टीमा रहेर राजनीति गरेका हृदयेस त्रिपाठीले 'हिजोको जुनियरलाई आज कसरी सिनियर मान्ने?' भन्दै प्रश्न उठाएको विषय सार्वजनिक भएपछि यस अघि नै 'पोर्टफोलियो' विवाद बाहिर आएको थियो। 

झन् आज राजपा सहअध्यक्ष हृदयेस त्रिपाठी, वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री बृजेशकुमार गुप्ता बैठकमा सहभागी नै नभएपछि विवाद छताछुल्ल भएको छ। 

अध्यक्ष मण्डलको निर्णयले सिंगो पार्टीलाई सँधै प्रतिनिधित्व गर्न नसक्ने भन्दै केन्द्रीय समिति बैठक बोलाउन दवाव दिएका तीनैजना नेता बैठकमा नआउँदा उनीहरुकै लागि अध्यक्ष मण्डलका नेताले दुई घण्टा कुरेका थिए। 

बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डोत्तोलन तथा कार्यालय उद्घाटनका लागि आधा घण्टा ढिला भए पनि तीन नेताहरुकै प्रतीक्षामा थप दुई घण्टा ढिला भएको थियो। 

स्रोतका अनुसार राजपाले निर्वाचन बहिस्कारको निर्णय गरेका बेला दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर पाँचमा र सातमा निर्वाचनमा भाग लिने कार्यकर्तालाई तीन नेताले संरक्षण गरेको भन्दै राजेन्द्र महतो निकटका स्थानीय कार्यकर्ताले कारवाही सिफारिस गरेका छन्। त्यही कारण तीन नेताले केन्द्रीय समिति बैठक बोलाउन र कार्यकर्तालाई आफ्नो हैसियतमा बस्न सिकाउन ती नेताले केन्द्रीय समिति बैठक डाक्न दवाव दिएको स्रोतले जनाएको छ। 

किन पदाधिकारी बैठकमा सहभागी भएनन्?

'म काठमाडौंमै छु, व्यक्तिगत काममा व्यस्त रहेका कारण बैठकमा सहभागी नभएको हुँ,' पार्टीभित्रको विवाद र आफ्ना असहमति लुकाउँदै सहअध्यक्ष हृदयेस त्रिपाठीले भने, 'म आगामी केन्द्रीय समिति बैठकमा सहभागी हुन्छु।' 

सद्भावना पार्टीमा हुँदा राजेन्द्र महतोभन्दा वरियतमा माथि रहेका हृदयेस त्रिपाठीले अध्यक्ष मण्डल र पदाधिकारीको वरियता नेताहरुको अनुभव र विगतलाई पनि ध्यान दिएर निर्धारण हुनुपर्ने भन्दै त्यसो नगरे वरियता मान्य नहुने बताउँदै आएका छन्। 

उनीजस्तै वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल पनि पदाधिकारी बैठकमा सहभागी भएनन्। पदाधिकारीको वरियता र संसदीय दलको गठनको विषय स्पस्ट हुन केन्द्रीय समिति बैठक बोलाउन दवाव दिएका नेता शुक्ल बुधबार दिनभर सम्पर्क विहिन अवस्थामा थिए। 

अर्का नेता तथा महामन्त्री बृजेसकुमार गुप्ता पनि बैठकमा सहभागी भएनन्। राजपा नेपालमा दुई जनाले पार्टी छोडेपछि एक सय ३२ पदाधिकारी छन्। पार्टी एकीकरण पछि श्रीमतिदेखि आफन्तसम्म र पार्टीमा आफू निकट रहेकाहरुलाई पदाधिकारी नियुक्तिको होडमा अध्यक्ष मण्डलका नेताहरु लागेपछि पदाधिकारीको वरियतामा गम्भीर प्रश्नहरु खडा भएका छन्। 

यस्तै केन्द्रीय समितिमा ८ सय १५ जना सदस्य रहेको राजपाको आगामी २१ गतेदेखि सुरु हुने बैठकमा वरियता विवादको अर्को श्रृङ्खला सार्वजनिक हुने अवस्था छ। 

राजनीतिमै संलग्न नभएकाहरुलाई केन्द्रीय समितिमा ल्याएर आफ्नो समूह ठूलो देखाउने होडबाजीमा रहेका अध्यक्ष मण्डललाई महाधिवेशनमा नजाँदासम्म आफ्नै समूह व्यवस्थापनमा अल्झिनुपर्ने अवस्था देखिएको छ। 

राजपाले एकीकरण गर्दा नै एकीकरणको एक वर्षभित्र महाधिवेशनमा जाने समझदारी गरेको छ। अझ विधानमा महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायम रहने प्रस्तावले नेताहरुमा थप असन्तुष्टि फैलाएको छ। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell