काठमाडौं : गृहसचिव लोकदर्शन रेग्मीले केही दिनभित्रै प्रदेश नम्बर दुईको निर्वाचनका लागि सुरक्षा रणनीति तयार हुने बताएका छन्।
निर्वाचन आयोगले भरतपुर १९ को निर्वाचन सुरक्षा तथा प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षाका विषयमा छलफलका लागि डाकेको बैठमा गृहसचिव रेग्मीले यस्तो जानकारी दिएका हुन्।
उच्चस्तरीय सुरक्षा समितिका संयोजक आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव अन्य आयुक्तहरु, गृहसचिव रेग्मी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।
बैठकमा आयुक्तहरुले भरतपुर १९ को मतदान र तथा मतगणनाको सुरक्षा तथा असोज दुईमा हुने आसन्न तेस्रो चरणको निर्वाचका विषयमा चासो राखेका थिए।
'भरतपुर १९ को मतदान र निर्वाचन कार्यमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ,' गृहसचिव लोकदर्शन रेग्मीले भने, 'प्रदेश नम्बर-२ को निर्वाचनका लागि छिट्टै नै सुरक्षा योजना तयार गरी प्रस्तुत गरिने छ।'
उनले गृह मन्त्रालयले तराई मधेसको वर्तमान सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ लिने तथा एनालाइसिसको काम भइरहेको जानकारी दिए।
बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि सम्पूर्ण क्रियाकलापमा उच्चस्तरको सुरक्षा आवश्यक हुने भन्दै सुरक्षाकर्मीको मनोबल उच्च हुने गरी काम गर्न निर्देशन दिए।
‘निर्वाचनका सम्पूर्ण क्रियाकलापमा उच्चस्तरको सुरक्षा आवश्यक हुन्छ, त्यसैले सुरक्षाकर्मीहरुको मनोबल उच्च हुने किसिमले खटनपटको व्यवस्था गर्नुहोस्,' यादवले भने, 'सुरक्षाकर्मी खटाउँदा महिला सुरक्षाकर्मी पनि पर्याप्त खटाउनुहोस् र आचारसंहिताको पालनामा विशेष ध्यान दिनुहोस्।'
प्रमुख आयुक्त यादवले सम्पन्न भएका दुई चरणको निर्वाचनमा सुरक्षा निकायबाट भएको सुरक्षा व्यवस्था सन्तोषजनक भन्दै धन्यवाद दिएका थिए।