PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राजपामा निर्वाचनमा जाने दबाब: पदाधिकारीबाटै राजधानी सार्नेदेखि छुट्टै राष्ट्रसम्मका प्रस्ताव



रमेश वाग्ले

राजपामा निर्वाचनमा जाने दबाब: पदाधिकारीबाटै राजधानी सार्नेदेखि छुट्टै राष्ट्रसम्मका प्रस्ताव

काठमाडौं: राष्ट्रिय जनता पार्टीमा निर्वाचनमा भाग लिने दबाब बढेको छ। एकीकरणको चार महिनापछि बुधबारदेखि काठमाडौंमा सुरु पहिलो पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनमा भाग लिने पक्षमा धारणा राखेका हुन्।

बबरमहलस्थित मधेसी निजामती कर्मचारी मञ्चको भवनमा कार्यालय उद्घाटन गरेर पदाधिकारी बैठक सुरु गरेको राष्ट्रिय जनता पार्टीको बुधबारको बैठकमा १२ जना पदाधिकारीले धारणा राखेका छन्। एकसय ३२ जना पदाधिकारीले बोल्नेक्रम जारी रहेपछि बैठक बिहीबार पनि जारी रहनेछ।

बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक प्रतिवेदनमा संविधान संशोधन राजपाको मात्र नभएर सम्पूर्ण मधेस र मधेसी जनताको माग भएको भन्दै संशोधन गरेरमात्र चुनावमा जाने भनिएको छ। अध्यक्ष ठाकुरका तर्फबाट प्रस्तुत प्रतिवेदन नेता जितेन्द्र सोनलले पढेका थिए।

'संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनको सम्वन्धमा मधेस र मधेसी जनताको अधिकारका लागि राजपाले उठाएका मुद्दा र अडान अहिलेका सन्दर्भमा थप सन्दर्भिक भएका छन्,' अध्यक्षको प्रतिवेदनमा भनिएको छ, 'त्यसैले यथास्थितिमा  राजपा निर्वाचनमा भाग लिँदैन।'

'राजनीतिक प्रतिवेदन सतही भयो भन्ने टिप्पणी नगरौँ। किनभने यो हतारमा वर्तमान सन्दर्भको छलफलका लागि तयार भएको हो,' तमलोपा सह–महामन्त्री डा सुरेन्द्र झाले भने, 'पदाधिकारीबाट विचार संकलन भइरहेको छ। पास हुँदासम्म यो वर्तमान राजनीतिक परिदृष्यका लागि पूँजी हुन्छ भन्ने ठानेका छौ।'

सह–महामन्त्री झाले मधेसी जनताले २००७ सालदेखि देशको लोकतान्त्रिकरण, संघीयता र समावेशीकरणका लागि गरेको योगदानलाई प्रतिवेदनमा समेट्ने र अहिलेको जटिल राजनीतिमा निकास हुनेगरी बाहिर ल्याउने बताए।

'देशको राजनीतिमा मधेस, २००७ सालदेखिको संघर्ष र त्यसलाई पूँजीकृत गर्ने सोच तथा १० वर्षमा मधेसीले गरेका तीवटा विद्रोहको र त्यसका उपलब्धिहरुको समीक्षा तथा राष्ट्रिय राजनीतिमा मधेसको भूमिकाका विषयहरु प्रतिवेदनमा समेटिन्छन् र सार्वजनिक पनि हुन्छ,' झाले भने, 'त्यसमा परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्वन्ध र संविधान कार्यान्वयका समस्या र समाधानको उपायको खोजी गर्ने काम प्रतिवेदनबाट हुनेछ।'

उनले बैठकबाट सबैको सुझावमा मधेसको प्रधान शत्रु किटान गरेर अघि बढ्ने तथा मधेसका समस्या समाधान हुन नदिनेहरुलाई पनि किटान गर्ने बताए।

 

अध्यक्षको प्रतिवेदनको विपक्षमा मत

अध्यक्षको प्रतिवेदनमा गरिएको प्रस्तावमा युवा महामन्त्री केशव झाले फरक मत राखेका छन्। आजको बैठकमा आफ्नो धारणा राखेका महामन्त्री झाले लोकतान्त्रिक पार्टीले निर्वाचनमा नजाने विषयमा वकालत गर्न नहुने बताए।

'अध्यक्षको राजनीतिक प्रतिवेदनमा 'यथास्थितिमा निर्वाचनमा भाग नलिने' उल्लेख रहेछ,' महामन्त्री झाले भने, 'संविधान संशोधन गरेर मात्र निर्वाचनमा जाने भन्ने एउटा राजनीतिक विषय हुन सक्छ। तर लोकतान्त्रिक पार्टीले निर्वाचनमा नजाने भन्न मिल्दैन।' 

उनले राजपाले निर्वाचन बहिस्कार गरेका प्रदेश नम्बर एक, पाँच र सात नम्बरमा प्रदेशमा ७० प्रतिशतभन्दा बढी जनतताले निर्वाचनमा भाग लिएको भन्दै जनतालाई निर्वाचनको विपक्षमा उभ्यान नहुने र नसकिने बताए।

'हामीले एक, पाँच  र सात नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गर्‍र्यौ तर, त्यहाँ ७० प्रतिशतभन्दा बढी जनताले निर्वाचनमा भाग लिए। जनताको भावनाबाट टाढा हुन हुँदैन,' महासचिव झाले भने, 'फेरि पनि बहिस्कारमै गयौँ भने हाम्रै कार्यकर्ता पनि हामीसँग नरहन सक्छन्।'

उनले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्नुपर्ने बताए। 

'संशोधनलाई निर्णयार्थ पेस गरौँ। परिणाम जे आउँछ स्वीकार गरौँ,' महासचिव झाले भने, 'तर, संशोधनको एजेण्डा नछोडौं त्यसका पक्षमा जनतमत निर्माण निरन्तर गरौँ।'

बैठकमा अधिकांशले निर्वाचनमा जाने विषय प्राथमिकतामा राख्नुपर्ने र बाँकी एजेण्डा सम्वोधनमा लाग्नुपर्ने बताए।

बैठक निर्वाचनका पक्षमा जंगीलाल राय, रितेश सिंह, सुरेन्द्र पटेलसहितका आठजनाले बोलेका थिए।

 

अनिल झाको समूह खतरनाक

बैठकमा अनिल झाको पार्टी नेपाल सद्भावना पार्टीबाट आएका पदाधिकारीहरुले भने पार्टीको संगठन वा फाइदा हेरेर अहिले उठाएका एजेण्डा छोड्न नहुने भन्दै कडा रुपमा प्रस्तुत भए।

महासचिव कौसलेन्द्र मिश्रले संगठन र निर्वाचन परिणामबाट घाटा हुन सक्छ भनेर उठाएका मुद्दा छोड्न नहुने बताए।  'राजनीतिमा संगठनभन्दा पनि विचार र एजेण्डा महत्वपूर्ण कुरा हो,' महासचिव मिश्रले भने, 'निर्वाचनको कुरा गरेर हुँदैन पार्टी सकिए सकियोस तर मुद्दा छोड्ने विषयमा सहमत हुन सकिँदैन।'

अध्यक्ष मण्डलका नेता अनिल झाकै समूहबाट आएका सह–महामन्त्री अनिल सिंहले छुट्टै राष्ट्र बनाउने विषयमा जानुपर्ने बताए।

'यहाँ मधेसीका लागि सम्मान र राज्यसत्तमा अपनत्व हुँदैन भने छुट्टै राष्ट्रका लागि समयमै लाग्नु उचित हुन्छ,' सिंहले भने, 'त्यसैले निर्वाचनमा भाग लिन कुरा उचित हुँदैन।'

सिंह विगतमा सशस्त्र समूहमा क्रियाशील भएर झासँग संघीय सद्भावना पार्टी हुँदै नेपाल सद्भावना र राजपामा आएका हुन्। 

झाकै समूहका सह-महामन्त्री रमन पाण्डे राजधानी सार्ने प्रस्ताव राखेका थिए।

 

विधानमा त्रुटी: सच्याउन प्रस्ताव  

राजपाको विधानमा तीनवटा गम्भीर त्रुटी देखिएको भन्दै सह–महामन्त्री डाक्टर सुरेन्द्र झाले सच्याउनका लागि प्रस्ताव लैजाने तयारी गरेका छन्। सहमहामन्त्री झाले बिहीबारको बैठकमा विधान सच्याउने प्रस्ताव लैजान लागेका छन्। 

'हतार-हतार निर्वाचन आयोगमा लैजादा विधानमा केही गम्भीर त्रुटिहरु देखिएका छन्, यो कसैको इन्टेन्सन भन्दा पनि हतारमा भएको कमजोरी हो,' झाले भने, 'त्यसलाई सच्याउन म भोली नं प्रस्ताव पेस गर्दैछु।'

'विधानले अध्यक्ष मण्डल महाधिवेशनपछि पनि रहन्छ भन्ने परिकल्पना गरेको छ। यो लोकतन्त्रिक विधिकै विरुद्दमा छ चरित्रकै विरुद्दमा छ,' झाले भने, 'त्यसपछि सर्वसम्मतिबाट मात्र निर्णय गर्ने भनिएको छ। यो अर्को गम्भीर समस्या हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell