
काठमाडौं : तिजको अवसर पारेर पोखराको लामाचौरमा हुने राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिताको छैटौँ संस्करण बगामी भदौ ६ गतेदेखि सुरु हुने भएको छ।
नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भदौं ४ देखि सुरु हुने महिलाहरुको महान पर्व हरितालिका तिज महोत्सवको मुख्य आकर्षणको रुपमा राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरएको हो।
भदौं ८ गतेसम्म ईन्द्रराज्यलक्ष्मी माविको परिसरमा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाण्डौंको न्यू डायमण्ड एकेडेमी, विभागिय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष वम बहादुर गुरुङले बताए।
प्रतियोगिताको बिजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। तेश्रो हुनेले २० हजार र सान्त्वनालाई १५ हजार प्रदान गरिनेछ।
बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्रदान गरिने भएको छ। महोत्सवको अवसरमा भाद्र ४ गते देखि ६ सम्म विद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय महिला भलिबल प्रतियोगित संयोजक सुशिलकुमार श्रेष्ठलका अनुसार प्रतियोगिताको पहिलो संस्करण विभागीय क्लब एपीएपले जितेको थियो। त्यसयताका बाँकी चार संस्करणमा भने न्यू डायमण्ड एकेडेमी च्याम्पियन बनेको थियो।