PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

हिन्दु दर्शनका व्याख्याता आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा निधन



रासस

हिन्दु दर्शनका व्याख्याता आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा निधन

चितवन : नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा गएराति निधन भएको छ।

विभिन्न रोगसँगै निमोनियाबाट थला परेका उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो। चितवनको देवघाटमा बस्दै आएका उनको सोही रोगका कारण गएराति काठमाडौंको सिफलस्थित आफ्नै निवासमा निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी दिए। 

उनका दुई छोरा र दुई छोरी छन्। अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। 

आचार्य खेमराजको अन्तिम इच्छा देवघाट पुग्ने थियो। सोही इच्छाअनुसार उनलाई भेन्टिलेटर र अक्सिजनसहित हेलिकप्टरमा राखेर २६ दिनअघि देवघाट ल्याइएको थियो।

त्यसपछि विस्तारै स्वास्थ्यमा सुधार आएको र भेन्टिलेटर र अक्सिजन छुटाउँदासमेत स्थिर भएको थियो। चितवनको गर्मीले असर गर्न थालेपछि चार दिनअघि काठमाडौँ लगिएको थियो। 

मोरङको लेटाङस्थित जाँतेमा जन्मिएका उनी २०३५ सालदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटमा बस्दै आएका थिए। आचार्य खेमराज केशवशरण संस्कृति वाङ्मय क्षेत्रका आध्यात्मिक व्यक्ति थिए। 

सनातन हिन्दु दर्शनका व्याख्याता उनका तीन दर्जन भन्दा बढी कृति प्रकाशित छन्। रेडियो नेपालमा लामो समय उनले धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए। 

स्थानीयवासी जगन्नाथ पोखरेलका अनुसार सुरुमा उनले देवघाटमा अन्तर्राष्ट्रिय शरणागति आश्रम खोलेका थिए। त्यहाँ माध्यमिकस्तरको पढाइसमेत हुन्थ्यो  पछि राधा माधवी मन्दिर बनाए। 

‘उन्नाइस भाषामा प्रवचन दिन्छु भन्नुहुन्थ्यो,’ लक्ष्मीनारायण मन्दिर देवघाटका पुजारी माधवप्रसाद आचार्यले भने,‘नेपालीसहित अंग्रेजी, संस्कृति, नेवारी, बंगाली, मराठी भाषामा प्रवचन गरेको त हामीले पनि सुन्यौँ।’ रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell