काठमाडौं : ललितपुर जिल्ला बास्केटबल संघ (एलडिबिए)को आयोजना तथा नेपाल बास्केटबल संघ (नेबा) को सहयोगमा नेपाल प्रेसिडेन्ट थ्री बाई थ्री राष्ट्रिय स्तरको पुरुष र महिला बास्केटबल प्रतियोगिता हुने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित कबर्डहलमा आयोजना हुने एलडिबिएका महासचिव सरोज विष्टले बताए।
प्रतियोगितामा अहिलेसम्म ४८ पुरुष टिम र १२ महिला टिमले खेल्ने पक्का भइसकेको र यो संख्या अझै बढ्ने विष्टले जानकारी दिए।
प्रतियोगितामा राजधानी बाहिरका टिमको पनि सहभागिता रहने आयोजकले जनाएको छ। एलडिबिएका महासचिव विष्टका अनुसार झापा, विराटनगर, धरान, काभ्रे र रुपन्देहीबाट २-२ टिम सहभागि हुने उनले बताए।
५ लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको पुरुषतर्फका विजेताले ४० हजार र उपिवजेताले २० हजार तथा महिलातर्फको विजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन्।
यस्तै दुवै विधाको मोस्ट भ्यालुएबल प्लेअरले समान ७ हजार पाउनेछन्।
प्रतियोगितामा भाग लिनका लागि प्रत्येक टिमले ३ हजार इन्ट्री फि बुझाउनुपर्ने नेबाका अध्यक्ष लामा टेण्डी शेर्पाले बताए। उनले छोटो समयमा प्रतियोगिता गर्न लागेकाले स्पोनसर नभएको र सहयोगका लागि राष्ट्रिय खेलकुदमा पत्र पठाएको बताए।
विश्व बास्केटबल संघ फिबाले जारी गर्ने वरीयतामा नेपाली थ्री बाई थ्री टिम १३३औं वरीयतामा रहेको छ।