PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नारायणगढ–मुग्लिन सडकखण्डकाे १० भन्दा बढी ठाउँमा पहिरो, दर्जनौ सवारीसाधन अलपत्र



रासस

नारायणगढ–मुग्लिन सडकखण्डकाे १० भन्दा बढी ठाउँमा पहिरो, दर्जनौ सवारीसाधन अलपत्र

चितवन : नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ।

बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो। साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। 

सो ठाउँमा काठमाडौँबाट इलाम गइरहेको ना६ख ७१२१ नम्बरको बस र बा१५च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए। बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ।

पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए। घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ। 

त्यसैगरी, उक्त सडकखण्डको चेपाङडाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन्। ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन्।

अन्य ठाउँमा पनि सानातिना पहिरो खसेको भएपनि यकिन तथ्यांक भने आउन नसकेको उनले बताए। पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी छ। जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताए। 

पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँचवटा साधन परिचालन गरिएको छ। ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारीसाधन अलपत्र परेका छन्। बुधबार साँझबाट पहिरो खसेर सडक रोकिएपछि यात्रु अलपत्र परेका छन्। 

स्तरोन्नति भइरहेको सडकमा वर्षा लागेसँगै पहिरो खसेपछि सरकारकोसमेत ध्यानाकृष्ट भएको छ। हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell