
काठमाडौँ : नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आज आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गरे।
त्यस अवसरमा सचिव बैरागीले संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गर्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने जानकारी दिए।
नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्राष्ट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा मुखरित गर्दै सहकार्य गरिरहेका छ।
मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायतास्वरुप उपलब्ध गराएको स्मरण गर्दै उनले मोरक्कोलाई अन्तर्राष्ट्रिय कानुन आयोग, अन्तर्राष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए।
राजदूत मल्लिकीले आफ्नो मुलुक वैभवशाली नभए पनि मित्र मुलुकलाई समस्या परेका बेला सधैँ सहयोग गर्दै आएको बताए।
उनले नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने बताए।रासस