PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सञ्चारमन्त्री बस्नेतले भने–नेपालमा चीन विरोधी गतिविधि हुन नदिन सरकार सचेत छ 



रासस

सञ्चारमन्त्री बस्नेतले भने–नेपालमा चीन विरोधी गतिविधि हुन नदिन सरकार सचेत छ 

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताएका छन्। 

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए। 

नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क रहेको भन्दै मन्त्री बस्नेतले नेपालको आन्तरिक मामिलामा चीन मौन रहनु र दैवी विपत्तिमा चिनियाँ जनता नेपालीको घरदैलोसम्म पुग्नुले पनि नेपाल–चीन बीचको सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र भाइचारामा आधारित रहेको बताए।

उनले चीनसँग जोडिन बाँकी ११वटा नाका खुलेपछि चिनियाँ र नेपाली जनताबीच अझै सुमधुर सम्बन्ध कायम हुने बताए। 

सांसद रूपा महर्जनले छिमेकी मुलुक चीन र भारतबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै नेपाल दुई देशबीच सेतुका रुपमा रहनुपर्ने बताइन्।

नेपालका लागि चीनका राजदूत यू ह्वाङले नेपाल र चीन सरकारबीचको सम्बन्ध पुरानो र जनस्तरसम्म फैलिएको बताइन्। 

उनले नेपालको विकासमा चीन सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै चिनियाँ लगानीबाट नेपालमा केही ठूला परियोजना सम्पन्न भएका बताइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell