
बेइजिङ : चीनको जनमुक्ति सेना (पिएलए)द्वारा सञ्चालित पत्रिकाले भारतलाई चिनियाँ भूभागमा रहेका सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै भारतलाई आफूविरुद्ध भ्रमित नपार्न चेतावनी दिएको छ। पत्रिका मार्फत् चिनियाँ सेनाले चीनको भूभाग सुरक्षा गर्न आफू सक्षम रहेको जनाएको छ।
'चिनियाँ सरकारले आफ्नो भूभागको स्वाधिनतामाथिका गतिविधि सहँदैन र भूगोलको स्वाधिनताको विषयमा हाम्रो हैसियतलाई अवमूल्यन नगरियोस्,' पिएलए दैनिकले लेखेको छ।
गत जुन १८ मा २ सय ७० भारतीय सेनाले सिक्किममा रहेको चीन-भारत सीमा पार गरेर चिनियाँ भागमा बनिरहेको सडक निर्माण अवरुद्ध गरेको थियो। जुलाइको अन्त्य सम्म पनि ४० भारतीय सैनिक र एउटा भारतीय बुलडोजर चिनियाँ भूभागमा नै रहेको छ।
पत्रिकाको कमेन्ट्रीमा चीनको सीमा सैनिकले प्रारम्भीक अवस्थाको अवलोकन गरिरहेको र लक्ष के हुने भन्ने तयारी गरिरहेको उल्लेख छ।
'चाइनिज सैनिकले अरुको एक इन्च पनि जमीन चाहेको छैन र एक इन्च पनि अरुलाई छोड्दैन,' पत्रिकाले जनाएको छ।
कम्युनिस्ट पार्टी अफ चाइनाको पिएलए सधै बलियो र क्षमतावान शक्ति रहेको बताउँदै पत्रिकाले यहाँको सेनाको प्रशंसासमेत गरेको छ।
'चिनियाँ नागरिक शान्तिप्रेमी छन्,' पत्रिकाले भनेको छ, 'हामीसँग कुनै आक्रमक योजना वा आवेग छैन यद्यपि सबैखाले आवेग र आक्रमणलाई परास्त गर्ने क्षमता छ।'
'चिनियाँ भूभागको अलिकति हिस्सा टुक्रने गरी कुनै पनि व्यक्ति, संस्था या राजनीतिक दललाई काम गर्न चीनले दिँदैन,' कमेन्ट्रीमा भनिएको छ।
शान्ति र विकास अहिलेको आवश्यकतासमेत रहेको यसमा उल्लेख गरिएको छ।
कमेन्ट्रीले भारतलाई कुरालाई बङ्ग्याउनुका साटो विषयलाई सम्झिन र विश्वव्यापी प्रवृत्तिलाई अंगाल्दै क्षेत्रीय र विश्व शान्ति तथा विकासमा लाग्न सुझाव दिएको छ।
चिनियाँ सेनाले भारतसँगको सीमा विवादको विषयमा आफ्नो धारण सार्वजनिक गरेपछि सैनिक पत्रिकाले आफ्नो अडान सार्वजनिक गरेको हो।
- सिन्हवा