चितवन : निकै चासो र चर्चाको रुपमा रहको भरतपुर १९ मा भोलि फेरि मतदान हुँदैछ।
अदालतको फैसला आएपछि साउन १७ गते सर्वदलीय बैठकले नै २० गते पुन: चुनावको मिति तोकेको हो। त्यसैदिन बेलुकादेखि मौन अवधिसमेत सुरु भयो। मौन अवधिमै पनि दलहरु प्रचारमा जुटिरहे। भरतपुर नगरपालिका वडा नम्बर १९ को चुनावमा फराकिलो मतान्तरका लागि केन्द्रीय नेताहरु चितवन केन्द्रित भए। यो क्रम अझै जारी छ।
उनीहरुले आफ्ना उम्मेदवार जिताउन आन्तरिक रणनीति बनाउँदै भोलिको मतदानमा सक्रियता जनाउँदैछन्। सर्वोच्चको आदेश आएकै भोलिपल्टै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी चितवन आएका थिए भने भोलिको चुनावका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज आइपुगेका छन्। मौन अवधिमा नै पत्रकार सम्मेलन गर्न भ्याए उनले।
निर्वाचन आचार संहिताविपरित मौन अवधिमा किन प्रचारमा आएको भन्ने प्रश्न गर्दा उनले कुटनीतिक भाषा प्रयोग गरे। भने, 'प्रधानमन्त्रीले कसरी अनुगमन गरे भनेर प्रतिपक्षको नाताले हेर्न आएको हुँ।'
प्रधानमन्त्री शेरबहादुर देउवासँगै हिजो चितवन आएका नेपाली कांग्रेसका केन्द्रीय नेताहरु डा.प्रकाशशरण महत, बालकृष्ण खाँड चितवनमै छन्। नेकपा एमालेका नेता भीम रावल र सुरेन्द्र पाण्डे पनि आफ्ना उम्मेद्वारलाई जिताउन व्यस्त छन्। चितवनकै काशीनाथ अधिकारीलगायतका नेताहरु पनि निर्वाचनमा होमिएका छन्।
त्यस्तै माओवादी केन्द्रबाट वरिष्ठ नेता अमिक शेरचन र नारायण दाहालको एक विशेष टोली नै आन्तरिक रणनीति साथ चुनावी मैदानमा डटिरहेका छन्। निर्वाचन हुन अब एक दिन मात्र बाँकी छँदा सबै दलहरु जोड बलले लागेका छन्।
भरतपुर १९ सबैभन्दा बढी नेपाली कांग्रेसको पकड भएको क्षेत्र हो। कांग्रेसले मेयरमा माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहाललाई साथ दिएकाले एमालेले विशेष रणनीति बनाएको छ।
यस वडामा जसले जिते पनि कांग्रेसकै मत पाउनेछन्। यो रमाइलो भिडन्तमा रेणु दाहालले स्मार्ट सिटीसँगै नगर समृद्धिको अभियान लिएर हिँडेकी टिन्। अर्कोतिर एमालेका देवी ज्ञावाली भने मत च्यात्नेलाई फेरि किन मतदान गर्ने भन्दै हिँडेका छन्।