PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

स्याङजाको वालिङमा स्वाइन फ्लुको महामारी फैलन सक्ने चेतावनी, सचेत हुन आग्रह



सागर बुढाथोकी

स्याङजाको वालिङमा स्वाइन फ्लुको महामारी फैलन सक्ने चेतावनी, सचेत हुन आग्रह

काठमाडौँ : इपिडिमियोलोजी रोग महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर स्वाइनफ्लु भाइरस फैलिएकाले सचेत हुन आग्रह गरेको छ। स्याङजाको वालिङमा १८४३ जनाको जाँच गर्दा ६२८ जनामा रुघाखोकी र सय जनामा जाँच गर्दा ४० जनामा उच्च ज्वरो देखिएको महाशाखाले जनाएको छ।
 
वालिङमा स्वाइनफ्लुको महामारी फैलन सक्ने भन्दै भोलि सरकारी डाक्टर टोली त्यहाँ औषधिसहित पुग्ने महाशाखाका निर्देशक भीम आचार्यले बताएका छन्। अन्य ठाउँबाट जानकारी नआइसकेको उनले बताए।

६ जनाको  मृत्यु र २०२  जनामा स्वाइनफ्लु देखिएको आचार्य बताउँछन्। यो संख्या बढ्दै जान सक्ने उनले सचेत गराएका छन्।

‘स्वाइनफ्लु सरुवा रोग हो। यो एक स्थानबाट अर्को स्थानमा चाँडै फैलन सक्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ,’ आचार्यले भने, ‘सचेत भएर सरसफाईमा ध्यान दिने र बेलैमा उपचार गरे यसले असर गर्दैन। महामारीको रुपमा फैलन पाउँदैन।’

उपचार के छ ?

निर्देशक आचार्यका अनुसार ‘टमिफ्लु’ नामक भ्याक्सिन लगाएमा एचवानएनवान नामक भाइरसले शरीरमा संक्रमण गर्दैन। यो १ वर्षसम्मको लागि हुन्छ। एक डोजको लागि १२ सय पर्ने भएकाले अनावश्यक मानिसले भ्याक्सिन नलगाउँदा पनि केही नहुने आचार्य बताउँछन्।

‘५ वर्ष मुनिका बच्चाहरु, दीर्घरोगीहरु र ६५ वर्षभन्दा माथिकाहरुले स्वाइनफ्लु लाग्ने डर भएमा भ्याक्सिन लिँदा राम्रो हुन्छ,’ उनले भने, ‘अनावश्यक मानिसहरुले भ्याक्सिन लिँदा आवश्यकहरुले पाउँदैनन्। आवश्यकहरुलाई मात्रै भ्याक्सिन लगाउँदा पनि राज्यको १४ अर्ब खर्च हुन आउँछ। सबैले लगाउन राज्यको खर्चले धान्दैन।’

मौसमी भाइरल भएकाले डराउनुपर्ने अवस्था नरहेको आर्चायको तर्क छ ।

आचार्यका अनुसार स्वाइनफ्लु भइसकेपछि स्वासप्रस्वास बन्द हुने, शरिरका अंगहरु फेल हुने, पाचन प्रणालीले काम नगर्ने र अचेत हुने जस्ता जटिल अवस्था देखा पर्छ।
 
त्यसैले रुघाखोकी र ज्वरो मात्र आएमा पनि स्वास्थ्य संस्थामा जानुपर्ने आचार्य बताउँछन्। ‘पर्याप्त औषधि छ । स्वास्थ्य संस्थामा सबैतिर जानकारी गराएका छौँ। जनचेतनाको लागि सञ्चारमाध्यमले सहयोग गरेको छ। डराउनुपर्देन, महामारीको रुपमा फैलँदैन,’ आचार्यले भने ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell