चितवन: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान हुँदैछ। सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर १९ मा पुनः मतदान हुन लागेको हो। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा भरतपुरमा पनि मतदान भएको थियो। मतपत्र च्यातिएपछिको अदालती प्रक्रियाका कारण दुई महिनासम्म भरतपुरमा पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो।
यसअघि मतपत्र च्यातिएका कारण कडा सुरक्षा व्यवस्थाबीच निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ।
पुनः भइरहेको मतदानमा वर्षाका कारण छाता ओढेर सर्वसाधरण मतदानमा सहभागी भएका छन्। मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन्।
चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए।
भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्।
लामो विवादपछि अदालतको आदेश अनुसार मतदान हुन लागेको हो। अदालतको आदेशलाई कांग्रेस माओवादी गठबन्धन दलले स्वागत गरेका छन्। एमालेले भने आदेश अपराधिक क्रियाकलाप गर्नेकै पक्षमा भएको भन्दै असन्तुष्टि जनाएको छ। अदालतको आदेश कार्यान्वयनका लागि दुवै गठबन्धन र एमालेका दुवै उम्मेदवार जनताको अदालतमा पुगेका छन्।