
चितवनः विद्युत प्रसारण लाइनमा आएको खराबीका कारण चितवनको ग्रामीण भेग माडीका सर्वसाधरण दुई सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
‘अन्डरग्राउन्ड’ माध्यमबाट सञ्चालित विद्युत सेवा सुरु भएको एक वर्षमा नै पटक-पटकको समस्याका कारण माडीबासी मारमा परेका हुन्।
समस्याबारे सम्वन्धित निकायको ध्यानाकर्षण गरे पनि बेवास्ता गरिएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए।
अन्डरग्राउन्डमा तामाको तार जडान गर्नु पर्नेमा आल्मुनियमको तार जडान गरिएको र ८/१० किलोमिटर जंगलमा टुक्रा–टुक्रा तार परेकाले विद्युत सञ्चालनमा समस्यामा देखिएको हो। आयोजनाले तार परिवर्तन नगरेसम्म समस्या कायम रहने माडीवासीको भनाई छ।
भरतपुर, चनौली, माडी ३३ केभीए प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनामार्फत माडीमा पहिलोपटक २०६३ मा विद्युत पुगेको थियो। माडीमा अहिले झन्डै चार हजार ग्राहक भइसकेका छन्। विद्युत् नहुँदा उनीहरु टुकी र सोलारको भरमा बस्न बाध्य छन् ।
समस्या समाधानका लागि मेसिन र प्राविधिक केही दिनमा आइपुग्ने र निर्माणको काम सुचारु हुने विद्युत प्राधिकरणका योजना प्रमुख जगदिश जोशीले जानकारी दिए। मेसिन भन्सारमा रोकिएकोले मेसिन नआउँदासम्म काम अघि बढाउन नसकिने जोशीको भनाई छ।