PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पहिरोमा पुरिएर बागलुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता



रासस

पहिरोमा पुरिएर बागलुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

बागलुङ : घरमाथिबाट खसेको पहिरोमा परी बागलुङको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ। ६३ वर्षीया नन्दकली छन्त्याल र उनकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन्। 

घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए। 

यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ। उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन्।  लालबहादुर सिँजालीकी अन्दाजी ६५ वर्षीया आमा (नाम खुल्न नसकेको) बेपत्ता भएको प्रहरीले जनाएको छ। 

भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पुर्याएको हो। ‘जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ’, उपरीक्षक खापुङले भने ‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।’

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटेको जनाइएको छ। गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको थियो। 

घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी खटाएको जनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell