चितवनः चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान भइरहेको छ।
बिहान सात बजेदेखि सुरु भएको मतदानमा मध्यान्हसम्म ५६ प्रतिशत अर्थात् २ हजार १ सय ६८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। झरीको पर्वाह नगरी मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्।
सर्वोच्च अदालतको आदेशअनुसार भरतपुर १९ मा पुनः मतदान भइरहेको हो। वैशाख ३१ गते पहिलो चरणको निर्वाचनमा भरतपुरमा मतदान भएपनि वडा नम्बर १९ मा मतपत्र च्यातिएपछिको अदालती प्रक्रियाका कारण दुई महिनासम्म पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो।
मतदाता मतदाता बिहान ६ बजेदेखि नै लाइनमा बसेका थिए। चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए।
भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्।