PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

लगातारको वर्षाले परासीसहितका केही गाउँ डुबानमा, नहरमा डुबेर दुई बेपत्ता



रासस

लगातारको वर्षाले परासीसहितका केही गाउँ डुबानमा, नहरमा डुबेर दुई बेपत्ता

नवलपरासी : नहरमा डुबेर नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन्। नवलपरासीको प्रसौनीस्थित नहरमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ। 

स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन्।


नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएका प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी छ । 

सदरमुकाम परासीसहित केहीगाउँ डुबानमा 

लगातारको वर्षाका कारण नवलपरासीको सदरमुकाम परासीसहित जिल्लाका ग्रामीण क्षेत्रमा केही गाउँ डुबानमा परेका छन्। 

वर्षाका कारण परासीको रामखण्ड पुलसँगैको गाउँ र हाटबजार क्षेत्र डुबानमा छ। यसैगरी रावणखण्ड खोलाका कारण परासीमा रहेको नेपाली सेनाको ब्यारेकसहित आसपासका क्षेत्र पनि डुबानमा परेका छन्। 

लगातारको वर्षाले विभिन्न नदीमा बाढीको बहाव बढ्दै जाँदा ग्रामीण क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन्। पाल्ही नन्दन र सरावल गाउँपालिकामा पनि बाढीको प्रबाह बढेको छ । 

पाल्ही नन्दन १ शंकरपुर, २ सुगौली, (हरपुर पुलमा आवागमन बन्द) सरावल गाउँपालिका वडा नं ३ कोठिलहाँ, ५ र ६ का खडौना, मधवलिया, नौडिहँवा, वडा नं ७ गणेशपुरलगायत गाउँका केही घरमा बाढी पसेको छ। 

अविरल वर्षाका कारण नारायणी नदीलगायत अन्य खोलाको सतह बढेकाले बाढीको खतरा देखिएको छ। बाढीको प्रभाव ग्रामीण क्षेत्रका केही गाउँमा देखिएपछि स्थानीयवासी नजिकैको विद्यालय/सङ्घ संस्था र अग्ला घरमा गएर बसेका छन्। 

तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनद्वारा आग्रह गरिएको छ। गुठिसूर्यपुरामा बाढीले पाँचवटा कच्ची घर बगाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell