PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित



रासस

२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

चितवन : नेपालका २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ। 

साउन महिनामा अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिए। 

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको जानकारी दिए। 

चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेका केसीले बताए। 

इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो। चितवनमा भने १०९ जनामा संक्रमितमध्ये चारजनाको ज्यान गएको थियो। 

ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उनले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गरे। 

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ। यो रोगको किटाणु मुसाको कानमा बस्ने गर्छ। एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताए। 

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखा परेको थियो। चितवनमा २०७३ सालमा यो रोग देखिएको थियो। गएको वर्ष चितवनमा मुसा र माइटमा गरिएको अध्ययनमासमेत संक्रमण भेटिएको थियो। 

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ। यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell