चितवन : बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउसो दुई बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ।
उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो।
आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किलोमिटर दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।
सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उनले बताए। सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए।
तीनदिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।