
धेरै नै प्रचार र चर्चाबीच बलिउडका किङ शाहरुख खानको फिल्म जव ह्यारी मेट सेजल रिलिज भएको छ। फिल्म मेकिङमा भन्दा मार्केटिङमा केन्द्रित हुँदै गइरहेको बलिउडको यो फिल्मले असहज झट्का बेहोरेको छ।
शाहरुख खान नामै काफी छ बलिउडका लागि। तर, पछिल्लो समय दक्षिण भारतीय फिल्मले बलिउडलाई गाँज्दै ल्याउँदा बलिउडका ताराहरुको चमक पनि फिका हुन थालेका छ। यसअघि सलमान खानको फिल्म ट्युबलाइट पनि बक्स अफिसबाट रिजेक्ट हुनुले बलिउडमा खानहरुको दवदवाको अन्त्य हुन लागेको त होइन?
अहिल्यै यसको निचोडमा पुगिहाल्नु गलत हुनेछ। तर, सत्य यही हो शाहरुख र अनुश्का शर्माको जोडीले जुन तहल्का ल्याउथ्यो त्यो यसपटक गलत सावित भएको छ। आज रिलिज भएको फिल्मको प्रवर्द्धन गर्न बलिउड हङ्गामामा रोड ब्लक विज्ञापन प्रकाशित छ। र, त्यही अनलाइनमा सफ्ट टोनमा लेखिएको छ – जब ह्यारी मेट सेजल ओपन्स टू अ गुड स्टार्ट अफ फोर्टी पर्सेन्ट। मतलब फिल्मले ४० प्रतिशतको राम्रो सुरुवात गरेको छ।
इमताज अलीको निर्देशनमा बनेको फिल्ममा प्रचारका लागि कुनै कसर छाडेका थिएनन् शाहरुख र उनैले बलिउड डेब्यु गराएका शर्माले। प्रचारमा कुनै कसर नछाडे पनि बक्स अफिसले उनीहरुलाई वास्ता गरेन। मल्टिप्लेक्सका यी दुवै चर्चित स्टारले त्यही ४० प्रतिशतमात्र सिट भर्न सके। सिंगल स्क्रिनको चाप हेर्ने हो भने अझ खराब सुरुवात रह्यो। फिल्मले २५ प्रतिशत मात्र दर्शक जुटाउन सक्यो सिंगल स्क्रिनमा।
शनिबार र आइतबारले शाहरुखको स्टारडम जोगाउन सक्छ या सक्दैन अहिले नै भन्न सकिन्न।