PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु



रासस

सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

ललितपुर : नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ। 

नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले संयुक्तरुपमा उद्घाटन गरे। 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा ४३ लाख ४६ हजार २३० रुपैयाँको लागतमा सो प्रणाली जडान भएको हो।

प्रणालीमा २६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएको छ। 

यस प्रणालीबाट एशोसिएसनको कार्यालय भवनमा दिउसोको समयमा आवश्यक पर्ने ऊर्जाको आंशिक आपूर्ति गर्ने र ब्याट्रीहरुमा ऊर्जा सञ्चय गरी र बचत भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ।

यसरी उत्पादित विद्युत् नेट मिटरिङमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा सम्झौता भएबमोजिम जडान गरी प्रसारण लाइनमा प्रवाह गरिने कार्यक्रममा जानकारी दिइयो। 

गत असोज २० गते वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच वैकल्पिक ऊर्जा आयोजनाको विस्तार एवं व्यवस्थापनमा समझदारी भएको थियो। 

सो अवसरमा ऊर्जामन्त्री शाहीले ठूला जलविद्युत् आयोजना स्वदेशी पूँजीबाटै निर्माण गर्न नसकिने भएकाले सरकार विदेशी लगानी आकर्षित गर्न लागिपरेको बताए। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहरी क्षेत्रका ठूला भवन, कार्यालयबाट छतमा सौर्य प्यानल राखी उत्पादन भएका विद्युत् र रातको समयमा खेर गएको विद्युत्लाई उपयोग गर्न सके भरपर्दो र गुणस्तरीय ऊर्जाको आपूर्ति गर्न सकिने बताए। 

केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले प्राधिकरणसँग भएको सहमतिअनुसार देशका अन्य ठाउँमा पनि सौर्य प्रणालीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्न सकिने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell