काठमाडौं: ‘एलजी सिने सर्कल फिल्म अवार्ड’का लागि विशेष अतिथि रहेका कलाकारहरु माला सिंहा र सिपी लोहनी नेपाल आएका छन्। अवार्ड साउन २३ गते हुँदैछ। ‘माइती घर’का जोडी माला सिंहा र सिपी लोहनी सोही कार्यक्रमका लागि शुक्रबार नेपाल आइपुगेका हुन्।
माला र सिपीलाई सहित नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान गरिने बताइएको छ। यी दुई रियल लाइफ जोडीले ‘माइती घर’मा एकसाथ अभिनय गरेका थिए। आयोजक दिनेश डिसीका अनुसार नेपाल बसाइको समय उनीहरुलाई पोखरा र चन्द्रागिरी घुमाइने छ।
अवार्ड समारोहमा सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने सर्कल अवार्ड २०७४ मा छक्कापञ्जा, गाजलु, जात्रा, वीर विक्रम तथा पुरानो डुंगा बेस्ट फिल्म अफ द इयरको विधामा मनोनित हुन सफल भएका छन्। दीपाश्री निरौला (छक्का पञ्जा), हेमराज बिसी (गाजलु), प्रदीप भट्टराई (जात्रा), मिलन चाम्स (वीर विक्रम) तथा रामबाबु गुरुङ (पुरानो डुंगा) सर्वोत्कृष्ट निर्देशकको विधामा मनोनित छन्।
कार्यक्रममा द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ आयोजकले जानकारी दिएको छ।