PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

भरतपुर १९ मा अघिल्लो पटकभन्दा २७ मत कम खस्यो, आजैबाट गनिने



राजेन्द्र आचार्य

भरतपुर १९ मा अघिल्लो पटकभन्दा २७ मत कम खस्यो, आजैबाट गनिने

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदानमा ७५.५८ प्रतिशत मतदान भएको छ। यसअघि २ हजार ८ सय ९७ मत खसेकोमा यस पटक २७ मत कम अर्थात् २ हजार ८ सय ७० मत खसेको हो।
 
बिहान सात बजेदेखि सुरु भएको मतदानमा सकिएको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने, 'पुन: मतदानमा ७५.५९ प्रतिशत अर्थात् २८ सय ७० मत  खसेको छ।' 

झरीको पर्वाह नगरी मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएको उनले बताए। यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन्।
 
सात बजेसम्म सबै मतपेटिका मतगणनास्थलमा ल्याइसकिने समेत उनले बताए। 

सर्वोच्च अदालतको आदेशानुसार भरतपुर १९ मा पुनः मतदान भएको हो। वैशाख ३१ गते पहिलो चरणको निर्वाचनमा भरतपुरमा मतदान भए पनि वडा नम्बर १९ को मतपत्र च्यातिएपछिको अदालती प्रक्रियाका कारण दुई महिनासम्म पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो। 

यहाँ शारीरिक रुपमा अशक्तहरु पनि चुनाव मतदान गर्न आएका थिए। उनीहरुले आफूहरुलाई अब बन्ने नयाँ मेयरले विशेष रुपमा हेर्नुपर्ने बताएका थिए। 

मतदाता मतदाता बिहान ६ बजेदेखि नै लाइनमा बसेका थिए।  चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए। निर्वाचन सफल बनाउन सबैले सहयोग गरेकोमा उनले मतदाता, दलहरु, सुरक्षाकर्मी सबैलाई धन्यावाद समेत दिए। 


मतगणना आजैबाट

यसैबीच आजदेखि मतगणना सुरु गरिने भएको छ। भरतपुरको जिल्ला समन्वय समितिको अगाडिको खेलकुद कबर्ड हलमा लगाइएको ताला सर्वदलीय बैठक बसी खोलिएको छ। 

'हामीले आजदेखि मत गन्न ताला खोलेर सरसफाई सकेका छौँ,' सहायक निर्वाचन अधिकृत घिमिरेले भने। मत च्यात्ने घटना नहोस् भनी फलामको बार लगाउने तयारी छ। 

यसपटक दलहरुले गणनास्थलमा एक जना मात्रै प्रतिनिधि राख्न पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell