PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बागलुङमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, १५० परिवार पहिरोको उच्च जोखिममा



रासस

बागलुङमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, १५० परिवार पहिरोको उच्च जोखिममा

बागलुङ : घरमाथिबाट खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ। चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए।

नन्दकली र विन्दुको शव बिहान फेला परेपनि मणिमान र गीताको शव भने अपराह्न मात्र निकालिएको थियो। 

यस्तै, पहिराले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ। उनकी श्रीमती र छोरी सकुशल रहेका तथा छोरा सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ। यससँगै मृत्यु हुनेको संख्या छ पुगेको छ। 

बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेपत्ता सिँजालीको बिहानैदेखि खोजी गरिरहेको थियो। भीषण वर्षापछि गएराति ठाउँ ठाउँमा गएको पहिरोले धनजनको क्षति पुर्याएको हो। 

निसीखोला–१ का हुल्दी, सल्लाबोट, देउरालीटोल, गाउँखर्क, नुन्थलालगायत ठाउँमा गरी १५० भन्दा बढी घरधुरी पहिरोको जोखिममा रहेका प्रहरीले जनाएको छ। उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।

जमिन चिरा परेको हुँदा पानी पर्नासाथ पहिरो खस्ने डरले घर छाडेर स्थानीय बासिन्दा सुरक्षित ठाउँतिर गइरहेका प्रहरीले जानकारी दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell