काठमाडौंः संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा आर्थिक अनियमितता भएको ठहर गरेको छ।
जग्गा प्राप्ति ऐनलार्इ छलेर निगमले आफ्नै विनियमावलीमार्फत जग्गा खरीद गरेकोले समितिले अनियमितता भएको ठहर गरेको हो।निगमले जग्गा प्राप्ति ऐन २०३४लार्इ छलेर आफ्नै विनियमावली २०६४ मार्फत जग्गा खरीद गरेको थियो।
निगमले वास्तविक जग्गा धनीसँग जग्गा खरीद नगरि जग्गा व्यावसायीमार्फत किनेको र जग्गाको दररेट सरकारी मूल्याङ्कन र चलन चल्तीको दररेट भन्दा धेरै गुणा बढी देखिएकोले खरीद प्रक्रियामा गम्भिर अनियमितता देखिएको समितिको ठहर छ।समितिले खरीद प्रकृयालार्इ यथास्थितीमा राखेर खरीदमा संलग्न रहेका सबै पक्षलार्इ कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलार्इ लेखि पठाउने निर्णय समितिले गरेको छ।
साझासँग माग्यो पाँच वर्षको आयव्याय विवरण
समितिको शुक्रबार बसेको अर्को बैठकमा साझा प्रकाशनलार्इ पाँच दिनभित्र विगत ५ वर्षदेखिको खरीद, बिक्री, उत्पादन, सम्पति, दायित्व, आय र ब्यय लगायतका सम्पूर्ण वित्तीय विवरण माग्ने निर्णय गरेको छ।
समितिले विगत ५ वर्ष यता नियुक्त गरिएका कर्मचारीको विवरण, सेवाका शर्तहरु, पारिश्रमिक रकम र अन्य दायित्वका विवरण माग्ने, आर्थिक कारोबार गर्दा निर्णय लिने प्रक्रिया र निर्णय गरिएका फाईल पनि माग्ने निर्णय गरेको हो।