PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

स्वास्थ्य मन्त्रालयको पहलः सुत्केरी बिदा छ महिनासम्म 



रासस

स्वास्थ्य मन्त्रालयको पहलः सुत्केरी बिदा छ महिनासम्म 
फोटो श्रोतः cdn.com

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन पहल सुरु गरेको छ। 

जागिरे सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल थालेको हो। 

हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ। सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन्। 

नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैरसरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसँग छैन।

व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन् तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्रावधान लागू हुने व्यवस्था गरिएको छ। 

प्रस्तावित विधेयकका प्रावधान तथा स्तनपानको महत्वका बारेमा स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाद्वारा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सदस्यलाई जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा यसबारेमा जानकारी दिइएको हो। 

अर्कोतर्फ, अन्तर्राष्ट्रिय श्रम संगठनमा सुत्केरी बिदा १०३, श्रम नियमावली २०५० ले ९० दिन पारिश्रमिकसहित बिदा पाउने प्रावधान रहेको छ।

शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले सो विधेयक मस्यौदा तयार गरी विधेयक प्रस्तुत गरेको हो। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी बिदा छ महिनासम्म पुर्याउने विधेयकमा प्रस्ताव गरिएको कार्यक्रममा जानकारी दिए। 

विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन। यो प्रतिशत वर्षेनी घट्दो छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell