पाल्पा : पाल्पाका एक व्यक्तिको स्वाइन फ्लुका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइरसका कारण भएको हो।
उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो।
ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ। तर उनीको मृत्यु के कारणले भएको भन्ने यकिन हुन सकेको छैन।
पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी मदाने–१ की १६ वर्षीया अनिता विष्टको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो। केन्द्रीय प्रयोगशालाको टोली पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले जानकारी दिए। रासस