नुवाकोट : अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने झोलुङ्गे पुल बगाएको छ।
बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन्। फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोटतर्फको जग कटान गरी पुल बगाएको हो।
नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पुर्याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो।
झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावतमा भने समस्या नभएको स्थानीयवासीले बताएका छन्।
स्कटल्याण्ड सरकारको सहयोगमा यो पुल विस २००४ सालमा निर्माण गरिएको थियो।
यो पुल रसुवा जिल्लालाई अन्य जिल्लासँग जोड्ने पहिलो पुल हो। पुलको निर्माणपछि रसुवाको रसुवागढी हँुदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो। रासस