PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री



रासस

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन्। 

नेपाली कांग्रेस, भोजपुर–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको बताए।

अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजना प्रारम्भ भएपछि त्यसबाट अर्बमा हैन खर्बको लगानी मुलुकमा भित्रने बताए।

उनले भने,‘मुलुककै अर्थतन्त्रलाई राष्ट्रिय रुपमा दिगो प्रभाव पार्ने तीन आयोजना अरुण तेस्रो, माथिल्लो कर्णाली र तामाकोशी आयोजना बनेका थिए, तीमध्ये क्षेत्रीय र सन्तुलित विकासका दृष्टिोकणले महत्व बोकेका अरुण र कर्णाली आयोजना दश वर्षदेखि अलमलिएको अवस्थामा छन्, अब ती आयोजनालाई अहिलेको सरकारले गति दिदैंछ।’

अरुण तेस्रो आयोजना कार्यान्वयन गर्नसकेको खण्डमा पूर्वाञ्चलको मात्र नभइ मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले लगानी बोर्ड र भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् कम्पनीबीच– ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना विकास सम्झौता (पीडिए) भइसकेको जानकारी दिए। 

संखुवासभा र भोजपुरको सिमानामा पर्ने उक्त आयोजनाको कुल अनुमानित लागत एक खर्ब चार अर्ब लाग्ने बताइएको छ।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell