PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान आयात



रासस

विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान आयात

विराटनगर : गत आर्थिक वर्षमा विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ। 

सो नाकाबाट आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ। 

सबैभन्दा बढी तीन अर्ब ६६ करोड ३१ लाख ३३ हजार मूल्य बराबरको एक लाख ५२ हजार ६३१ मेट्रिकटन मकै आयात भएको छ भने तीन अर्ब १९ करोड ६५ लाख ३३ हजार मूल्य बराबरको ७९ हजार ९१३ मेट्रिकटन विभिन्न जातका चामल आयात भएको छ। 

आयात भएका चामल भन्सार कार्यालय भएर भित्रिएका छन् भने सीमावर्ती भारतीय बजारबाट तस्करीको रुपमा भित्रिएको र सर्वसाधारणले खानका लागि ल्याउने गरेको चामलको तथ्यांकमा यसमा समावेश गरिएको छैन।

भारतको जोगबनी बजारमा दिनहुँ किनमेल गर्न पुगेका कतिपयले चामल खरिद गरेर ल्याउने गरेको सहजै देखिन्छ। 

यसका साथै एक अर्ब, दुई करोड ७५ लाख ९३ हजार मूल्य बराबरको ४२ हजार ८१६ मेट्रिकटन गहुँ आयात भएको छ भने ४८ करोड नौ लाख ५९ हजार मूल्य बराबरको २१ हजार ९१६ मेट्रिकटन धान आयात भएको कार्यालयका प्रमुख देवशरण साहले जानकारी दिए। 

यसैगरी यो नाकाबाट नौ करोड ५१ लाख १५ हजार मूल्य बराबरको तीन हजार ९६३ मेट्रिकटन कोदो आयात भएको छ भने ९० लाख २९ हजार मूल्य बराबरको २६६ मेट्रिकटन जौ आयात भएको हो। 

गत आर्थिक वर्षमा यो नाकाबाट १६ करोड ९२ लाख मूल्य बराबरका २८२ मेट्रिकटन विभिन्न जातका दाल आयात भएको कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell