PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

राष्ट्रिय जुनियर टेनिसमा संरक्षक र प्रेरणा च्याम्पियन



पहिलोपोस्ट

राष्ट्रिय जुनियर टेनिसमा संरक्षक र प्रेरणा च्याम्पियन

काठमाडौं : राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरण कोइरालाले प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा उपाधि शनिबार जितेका छन्। संरक्षक ब्वाइज र प्रेरणा गर्ल्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण पनि जिते।

ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन पुगे। पहिलो सेट प्रणवले ६–१ र दोश्रो सेट संरक्षकले ६–३ ले आफ्नो पक्षमा पारेका थिए। यसअघि संरक्षक यु–१८ सिंगल्समा पनि च्याम्पियन बनेका थिए।

सातदोबाटोमा भएको गर्ल्सको फाइनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१, ६–३ ले सहजै हराउँदै दोहोरो स्वर्ण जितिन्। यु–१४ गर्लस सिंगल्सको फाइनलमा पनि प्रेरणाले सलोनीलाई नै हराउँदै पहिलो स्वर्ण जितेकी थिइन्।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहको ब्वाइज/गर्ल्स सिंगल्समा प्रतिस्पर्धा भएको थियो।

यसअघि यु–८ को ब्वाइजमा बोरिस अधिकारी र गर्ल्समा समृद्धि महर्जन, यु–९ ब्वाइजमा आयुशमानहजुर घले र गर्ल्समा प्रशंसा मोक्तान, यु–१० ब्वाइजमा आरभसम्राट हाडा र गर्ल्समा प्रशंसा मोक्तान, यु–१२ ब्वाइजमा आर्यन गिरी र गर्ल्समा रायना शाह, यु–१४ ब्वाइजमा सम्यकभूषण वज्राचार्य तथा यु–१८ गर्ल्समा राष्ट्रिय च्याम्पियन मायांका राणाले पहिलो स्थान हात पारेका थिए।

विजेतालाई लनटेनिस संघका पूर्व अध्यक्ष हेमबहादुर लामा, आयोजक संघका सचिव मालिका राणा बस्नेत, सदस्यद्वय अजय विष्ट र ज्ञानेन्द्र खनाललगायतले पुरस्कृत गरे। आठदिने प्रतियोगितामा ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell