PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार काठमाडौंमा, तयारी अन्तिम चरणमा



रासस

बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार काठमाडौंमा, तयारी अन्तिम चरणमा

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ। 

बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक बैठक आयोजना गर्न लागेको हो। 

भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ। 

बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ। थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ। 

सोही दिन सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम) हुनेछ । परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकको नेतृत्व गर्नेछन्। 

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले जानकारी दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपराह्न राजधानीमा बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले सोही दिन साँझ सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने बताए। 

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिम्स्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुतगतिमा कार्यान्वयन गर्नेबारेमा १५औँ बैठक केन्द्रीत हुने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराईले बताए। 

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन्। साथै, उनले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नेछन्। 

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell