PahiloPost

Jun 24, 2025 | १० असार २०८२

रुकुममा एक सातादेखि विद्युत सेवा बन्द



पहिलोपोस्ट

रुकुममा एक सातादेखि विद्युत सेवा बन्द

रुकुम:  जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो।

विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ। विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन्। अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिए।

विद्युत् सेवा बन्द भएपछि जिल्ला सदरमुकामलगायत सिम्रुतु, वाँफिकोट, छिवांग, मग्मा बाँफिकोट, दुली, झुलालगायतका बासिन्दालाई दैनिक कामकाजमा समस्या भएको छ। विद्युत् सेवा बन्द भएका कारण जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणसमेत नियमित हुन सकेका छैनन्।

विद्युत् मर्मत भइरहेकाले केही दिनपछि मात्र नियमित हुने विद्युत् प्राधिकरणका कर्मचारी रामबहादुर केसीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell