रत्ननगर: चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन्।
उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिएकी छन्। पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाइ छ।
गएराति करिव १०ः३० बजे विजयी भएकी उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताइन्। उनले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताइन्।
“देशकै केन्द्रभागमा महानगर भएकाले समृद्द र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भनिन्, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु।”
यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताइन्।
प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाइ थियो। उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन।
भरतपुर महानगरको प्रमुखमा नेकपा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै माओवादी केन्द्रकी दाहाल विजयी भएकी थिइन। उनले ४३ हजार १२७ मत प्राप्त गरिन। ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे।
भरतपुरमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो। जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको प्रक्रिया सर्वोच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो। रासस