
पोखरा : भलिबलकी अरुणा शाही र टेनिसका खेलाडी कुमार अधिकारी पोखरा स्पोर्ट्स अवार्ड २०७३ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको दोश्रो पोखरा स्र्पोट्स अवार्ड समारोहमा वर्ष उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका सुनबहादुर लामा र उदियमान खेलाडी भलिबलकी ममता डगौरा घोषित भए।
यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्डबाट पूर्व अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटलाई प्रदान गरेको छ। विगत ५५ वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा अनवरत योगदान दिएका रानाभाटलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र प्रदान गरिएका छ।
बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएका छ। उत्कृष्ट महिला तथा उत्कृष्ट पुरुषलाई २५–२५ हजार र अन्यलाई जनही १० हजार नगद र अर्वाड सहित सम्मान गरिएको थियो। वर्ष उत्कृष्ट संघले पनि नगद १० हजार र अर्वाड प्राप्त गरेका छन ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसी, मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेका हुन्।
पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन्। २०७३ मा सातौं राष्ट्रिय खेलकुदमा ओपन डबल र मिक्स डबलतर्फ गोल्ड मेडल जिते भने सिंगलमा ब्रोन्ज जितेका थिए।
वर्ष उत्कृष्ट खेलाडी अरुणा शाही प्रथम स्पोर्टस् अवार्डमा समेत मनोनयनमा परेकी थिईन्। भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी अरुणाले २०७३ मा फाईभ वुमन वर्ल्ड च्याम्पियनशीप छनौट प्रतियोगितामा एशियन सेन्ट्रल जोनबाट फर्स्ट रनरअप, आरबीबी एनभीए वुमन क्लब लिग भलिबलमा बेस्ट सर्भर, सातौं राष्ट्रिय खेलकूदमा तेस्रो स्थान, सृजना आमन्त्रित अन्तराष्ट्रिय भलिबलमा दोस्रो स्थान, केएनपी राष्ट्रिय भलिबलमा दोस्रो स्थान हासिल गर्न सफल भएकी थिइन्।
उदयीमान खेलाडी ममता डगौरा मुख्यतः भलिबलकी खेलाडी हुन्। भर्खरै १४ वर्ष मात्रकी उनी क्षेत्रीय भलिबल टीमकी महत्वपूर्ण सदस्य हुन्। ममताको टीमले २०७३ मा सातौं राष्ट्रिय भलिबलमा कास्य पदक, क्षेत्रीय भलिबलमा स्वर्ण जितेको थियो।
वर्ष उत्कृष्ट प्रशिक्षक सुनबहादुर लामा सन् १९९५ देखि तेक्वान्दो प्रशिक्षक हुन्। फाईभ डाँन सुनबहादुर लामा निरन्तर खेलकुदमा क्रियाशील छन्। विभागीय टीम नेपाल आर्मीका खेलाडीलाई समेत उनले प्रशिक्षण दिँदै आएका छन्।
मनोनयनमा परेका तीन जनामध्ये प्रत्येक बिधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो।