PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बुटवलमा सडक विस्तारमा व्यापारी बाधक, निर्माण सम्झौता भए पनि काम सुरु भएन



चन्द्रकान्त खनाल

बुटवलमा सडक विस्तारमा व्यापारी बाधक, निर्माण सम्झौता भए पनि काम सुरु भएन

रुपन्देहीः सरकारले भदौ ५ गतेसम्म म्याद तोकेर सडकभित्र बनेका संरचना हटाउन सूचना जारी गरेपछि बेलहिया बुटवल व्यापारिक विस्तार आयोजनाको परिपत्र रोक्न व्यापारीहरुले राजनीतिक लविङ सुरू गरेका छन्। व्यापारीले संचरना भत्काउन अटेर गरे पनि स्थानीयले भने आफ्नो संरचना भत्काउन सुरु गरेका छन्। 

आधुनिक बुटवलको परिकल्पनासाथ सडक फराकिलो पार्ने कामलाई अहिले प्राथमिकतामा राखिएको छ। दायाँ बायाँ दुबैतर्फ २५–२५ मिटर बाटो फराकिलो पार्ने आयोजनाको लक्ष्य छ। आयोजनामा परेको र मापदण्डभित्र बनेका ४० प्रतिशत घरधनीले भने मुआब्जा पाउने निश्चित भइसकेको छ।

आयोजनाले सडकमा रहेका घर भत्काउन भदौ २ गतेसम्म अल्टिमेटम दिएको छ। तोकिएको समयमा संरचना नहटाए डोजर चलाउने चेतावनी आयोजनाको छ।

संचरना भत्काउन सूचना जारी भएपछि व्यापारीहरु शक्ति केन्द्र धाउन लागेका छन्। बुटवल उद्योग वाणिज्य संघले  बिज्ञप्ति जारी गरी तत्काल सडक बिस्तार नगर्न ध्यानाकर्षण गराएको छ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बुटवलको मुटुमा रहेका सडक सीमाका संरचना भत्काए व्यापारीलाई ठूलो नोक्सान हुने बताए। उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ र शंकर श्रेष्ठ पनि सडक विस्तार रोक्ने अभियानमा लागेका छन्।

व्यापारीले सडक विस्तार रोक्न दबाब दिए पनि आयोजनाका इन्जिनियर लीला बहादुर भण्डारी आयोजनाको काम नरोकिने बताउछन्। भण्डारी भन्छन् ‘कुनैपनि हालतमा अब काम रोकिँदैन। सरकारको अधिकारिक निर्णय भए रोकिएला।

 

सडक विस्तारमा ३११  घर भत्कने

बुटवलको चौराहदेखि गोलपार्कसम्म ३११ वटा भौतिक संरचना भत्कने भएका छन्। भत्काउने सूचीमा रहेका संरचनामा अधिकांश सडक मिचेर बनाइएका छन्।

आयोजनाले सडक निमार्णका लागि कञ्चनजागा बिरुवादेवी कन्स्ट्रक्सनसँग ४२ करोडको लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिसकेको छ। बुटवलको चौराहदेखि  गोलपार्कसम्म ३।५  किमी सडक रहेको छ। ठेक्का सम्झौतादेखि नै काम सुरु गर्नु पर्ने भए पनि संरचना नहटाइएका कारण निर्माण कार्यमा ढिलाइ भएको छ।

आयोजनाले २०३४ साल आसार २० गतेभन्दा पहिलेका संरचनालाई मुआब्जा दिनेछ। त्यसभन्दा पछिका संरचनाले मुआब्जा पाउने छैनन्।

सडक बिस्तारमा भत्काउने घरमध्ये ४० प्रतिशतले मात्र मुआब्जा पाउने छन्। सडक निमार्णको लागि ४७ करोड रुपैयाँ लागत रहेको आयोजनाका इन्जिनियर भण्डारीले बताए। बुटवलदेखि बेलहियासम्म २७ किमी रहेको सडक निर्माण सम्पन्न पछि १७ मिनेटमा बुटवलबाट बेलहिया पुगिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell