PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

खाल्डोमा डुबेर बालिका मृत्यु प्रकरण: शव सडकमा राखेर परिवार विरोध प्रदर्शनमा



राधेश्याम पटेल

खाल्डोमा डुबेर बालिका मृत्यु प्रकरण: शव सडकमा राखेर परिवार विरोध प्रदर्शनमा

रौतहटः सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालिकाहरुका आफन्तले आइतबार बिहानदेखि नै प्रर्दशन सुरु गरेका छन्। मृतकका आफन्त, परिवार र स्थानीयले बिहानदेखि नै रौतहट गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि शव सडकमा राखेर सडक क्षेत्र अवरुद्ध गरेका छन्। शनिबार खाल्डोमा परेर चार बालिकाको मृत्यु भएको थियो।

पीडित परिवारले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीको कारण बालिकाहरुको मृत्यु भएको भन्दै क्षतिपूर्ति माग गरेका छन्। पीडित परिवारले दोषीलाई कारबाहीको माग समेत गरेका छन्।

आफ्ना माग पूरा नभएसम्म बालिकाको अन्तिम सस्कार नगर्ने र प्रर्दशन जारी राख्ने उनीहरुले बताएका छन्। प्रर्दशनको कारण सवारी आवागमन र बजारक्षेत्र प्रभावित बनेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले प्रदर्शनस्थल पुगेर मृतकका आफन्तसँग वार्ताको लागि आह्वान गरेका छन्।

शनिबार दिउँसो घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउँने क्रममा डुबेर गरुडा नगरपालिका–४ स्थित स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साहको निधन भएको थियो। यस्तै स्थानीय प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको पनि मृत्यु भएको थियो।

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची सडक निर्माणका क्रममा खेतमा खाल्डो खनिएको थियो। सडक डिभिजन कार्यालय रौतहटको बजेटमा दुर्गा निर्माण सेवा कम्पनीले सडक निर्माण गर्ने जिम्मा पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell