PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

पहिरोले बाजुराको सिंगै गाउँ जोखिममा, गाउँले रातभरी जाग्राम बस्न बाध्य



रासस

पहिरोले बाजुराको सिंगै गाउँ जोखिममा, गाउँले रातभरी जाग्राम बस्न बाध्य

  • विनोदसिंह विष्ट 
बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिरोका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ। अविरल वर्षाका कारण पहिरो जान थालेपछि गाउँले विस्थापित हुने अवस्थामा पुगेका हुन्। 

१५ वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेका स्थानीय खड्कराज जोशीले जानकारी दिए। 

उनका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ। बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन्। 

गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पहिरोले भत्किएका स्थानीयवासी किट्टो ल्वारले जानकारी दिए। 

५६ घरपरिवारमध्ये १४ परिवार बढी जोखिममा रहेको बताइएको छ। गाउँमा नयाँ सडक निर्माण भएसँगै पहिरो जान थालेपछि स्थानीयवासी अझै त्रसित भएका हुन्। 

पहिराले सोही नगरपालिका– ३ गड्तोलाका ४० परिवार र देनवाडाका २० परिवारसमेत जोखिममा छन्। गड्तोलामा घरमाथिका खेतीयोग्य जमिन भासिएका छन् भने देनबाडा गाउँ नजिकै रहेको सामुदायिक वन भासिँदै गएकाले माथि र तलबाट पहिरो जान थालेको छ। पहिराले खेतीयोग्य जमिन बगाएको छ। 

लगातारको वर्षाले डिलाशैनी गाउँपालिकाको बांगाबगर, दोगडाकेदार गाउँपालिकाको सित्तड, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्रमा पहिरोको जोखिम बढेको छ। ती ठाउँमा पहिलादेखि नै पहिरोको प्रकोप रहेको र लगातारको वर्षाले झन् जोखिम बढाएको स्थानीयवासीले बताएका छन्। 

यस्तै बांगाबगरका बासिन्दालाई वर्षाले चिन्तित तुल्याएको छ । लगातार वर्षा भएपछि पहिराको डरले रातभरि सुत्न समेत नपाएको स्थानीयवासी महेश सार्कीले बताए। 

उता तल्लोसोराडको विशालपुरमा पनि पहिरोको जोखिम बढेको छ। पहिरोको जोखिम भएका ठाउँमा सतर्क भएर बस्न जिल्ला दैवीप्रकोप उद्धार समितिले आग्रह गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell