
रोल्पा : सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन।
जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त चिकित्सक नहुँदा गत वैशाख अन्तिम सातादेखि सेवा ठप्प भएको थियो। अस्पतालका एकमात्र तालिम प्राप्त चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो।
अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका सेवाग्राहीलाई प्यूठान, दाङलगायतका जिल्लामा सिफारिस गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी हेमराज पौडेलले जानकारी दिए।
सेवालाई निरन्तरता दिन दुईजना चिकित्सकको व्यवस्था गर्न लागिएको पौडेलले बताए। एकजनाले तालिम लिएर आइसकेको र अर्को चिकित्सक भर्ना गर्ने गरी विज्ञापनसमेत गरिसकेका उनले बताए।
यसअघि नयाँ चिकित्सक भर्ना गर्ने भनी खोलिएको विज्ञापनमा भने कसैको दर्खास्त परेको थिएन। नयाँ आर्थिक वर्षको सुरुवातपछि बजेटकोसमेत सुनिश्चितता भएकाले नयाँ चिकित्सक भर्ना हुनेमा आफू आशावादी रहेको पौडेलले बताए।
जिल्ला अस्पताल रेउघा रोल्पाले २०७१ साल फागुनबाट जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो।
हाल शल्यक्रिया गरिने कोठामा ताल्चा लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गरी दाङ, प्यूठान, बुटवल, नेपालगञ्ज जान बाध्य भएका छन्। रासस