
हिरोसीमा : जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ।
हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको आक्रमणको स्मरणगर्दै बम आक्रमणबाट भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो।
एटम बमको बिकीरणका कारण घटनास्थलमै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए। उनीहरुले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए।
आज हमलाको ७२ वर्ष पूरा भएको छ। हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक बर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् ।
बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ। स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन्।
त्यस घटनाका जिवीतहरु केही अहिले पनि रहेका छन्। उनीहरु पनि आजको वार्षिकी कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए।
आजका दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन्। आज पनि उनीहरु यहाँ पुगेका बताइएको छ।
हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएअनुसार आज यहाँ विश्वका ८० देशका नागरिक आएका थिए। उनीहरुले हिरोसीमामा विश्वयुद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ।
दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगष्ट ६ मा अर्थात् आजको दिनमा हिरोसीमामा र त्यसको तेस्रो दिन अगष्ट ९ मा नागासाकीमा हेलिकोप्टरबाट एटम बम खसालेर हमला गरेका थिए।
यी दुवै स्थानमा गरी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। अमेरिकाले यी दुवै सहरमा एटम बमबाट हमला गरेपछि जापानले अगष्ट १५ मा आत्मसमर्पण गरेको थियो।
जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो। त्यस यता संयुक्त राष्ट्रसंघ एवम् विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरुले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन्।
हिरोसीमामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसीमा नगरका मेयर काजुमी मात्सुइले हिरोसीमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने बताए।
उनले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनी आग्रह पनि गरे।
समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताए।
उनले विश्वमा बढ्दो मात्रामा देखिएका विविभन्न खाले हिंसाका अन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसीमा नरसंहारले सन्देश दिन सकोस भन्ने कामना गरे। रासस/एएफपी/सिन्ह्वा