PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

संविधान संशोधन प्रस्ताव फिर्ता लिन नेमकिपाको माग, प्रस्ताव मुलुकको हितविपरित भएको दाबी



रासस

संविधान संशोधन प्रस्ताव फिर्ता लिन नेमकिपाको माग, प्रस्ताव मुलुकको हितविपरित भएको दाबी

भक्तपुर : नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्दै सचिव प्रेम सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। 

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप लगाएको छ। 

बैठकले समाजवादी आन्दोलन र देशभक्तिपूर्ण संघर्ष चालु राख्ने लगायत १३ बुँदे निर्णय गरेको सुवालले जानकारी दिए।

सोअनुसार व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधानको दोस्रो संशोधन प्रस्ताव नेपाली जनताको हितविपरीत ‘भारतीय विस्तारवाद र एकाधिकार पूँजीवादको हितमा रहेको’ भन्दै पार्टीले प्रस्ताव फिर्ताका लागि सरकारलाई दबाब दिन जिल्ला जिल्लामा विभिन्न गतिविधि गर्ने भएको छ। 

बैठकले संसद्मा विचाराधीन निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था गरिएको मतसीमाको प्रावधान गणतन्त्रविरोधी तथा प्रतिगामी भएको ठहरसमेत गरेको छ। त्यसैगरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई पार्टीले उपयोग गर्ने निर्णय गर्नाका साथै सातै प्रदेशमा संयोजक तोकेको छ। 

प्रदेश नं १ देखि ७ सम्म क्रमशः नरेन्द्र होमागाईं, दिनेश शाह, प्रेम सुवाल, नीरज लवजू, हरिसुन्दर वासी, सुनिल प्रजापति र बजीरसिंह विकलाई संयोजक तोकिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell