PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

सीमांकनविनाको संविधान संशोधन फेल भए के चुनावमा जानु? : राष्ट्रिय जनता पार्टी



रमेश वाग्ले

सीमांकनविनाको संविधान संशोधन फेल भए के चुनावमा जानु? : राष्ट्रिय जनता पार्टी

काठमाडौं : राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति काठमाडौंमा सुरु भएको छ। साउन १८ देखि जारी केन्द्रीय पदाधिकारी बैठक सकिएपछि आजदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो। 

केन्द्रीय समिति बैठकमा संविधान संशोधन नभए चुनावमा जाने या नजाने र पार्टी संगठनलाई एक बनाएर कसरी अघि लैजाने भन्ने मुख्य एजेण्डा छन्। पदाधिकारी बैठकमा नै संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा नजाने बहुमत भएको राजपामा निर्वाचनमा सहभागी हुने या नहुने विषयको निर्णयका लागि यो सबैभन्दा शक्तिशाली थलो हो।

केन्द्रीय पदाधिकारी बैठकको पहिलो दिन १८ गते बहुमत पदाधिकारीले निर्वाचनको पक्षमा बोले पनि त्यसपछिका बैठकमा निर्वाचनलाई शर्तकै रुपमा प्रस्तुत गर्ने पदाधिकारीको बहुमत भएको थियो। 

'निर्वाचनमा जाने विषयमा हाम्रो कुनै आपत्ति हैन। तर, निर्वाचनअघि सरकारले गरेको सहमति पालना हुनुपर्योै र जनताका माग सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बन्नुपर्यो ,' राजपा सहमहामन्त्री डा. सुरेन्द्रकुमार झाले भने, 'संविधान संशोधन प्रस्ताव सीमांकनसहितको भएको भए फेल भए पनि जनतामा जान एउटा मजा हुन्थ्यो। जब सीमांकन विनाको संविधान संशोधन पनि फेल हुन्छ भने त्यो के एजेण्डा बनाएर निर्वाचनमा जाने?' 

झाले अधिकांश शीर्ष तहका नेता तथा पदाधिकारीले यही कुरालाई शर्तका रुपमा आफ्नो धारणा राखेको जानकारी दिए। 

राजपाको पदाधिकारी बैठकमा अधिकांश पुराना पुस्ताका तथा निर्णायक तहका नेताहरुले निर्वाचनमा जानुअघि कम्तिमा पनि संशोधन प्रस्ताव पारित हुनुपर्न भन्दै पारित नभए निर्वाचनमा जान वातावरण नबन्ने धारणा राखेका छन्। 

केही पदाधिकारीले चुनाव छोड्न नहुने भन्दै छोडे त्यसले पार्टीलाई नै घात हुने बताएका छन्। 

'राजपाले निर्वाचन बहिस्कार गरे पनि जनताले निर्वाचनमा भाग लिन्छन्। एक, पाँच र सात नम्बर प्रदेश त्यसका उदाहरण हुन्,' राजपा महामन्त्री केशव झाले भने, 'एउटा लोकतान्त्रिक पार्टीले निर्वाचन बहिस्कार गर्नेभन्दा राम्रो सन्देश जाँदैन। जनतासँगको लिंक समेत त्यसले टुटाउन सक्छ।' 

पदाधिकारीमै विभाजित बनेको विषय लिएर राजपा केन्द्रीय समिति बैठकमा गएको हो। 

करिब एक हजार केन्द्रीय सदस्य रहेको राजपा केन्द्रीय समिति बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसिरहेको छ। ६ पार्टी ६ अध्यक्ष, एक सय ३२ पदाधिकारी र ८ सय १५ जना केन्द्रीय सदस्य छन्। केन्द्रीय समिति बैठकमा सबै पार्टी मिलाएर छ जनाकै अध्यक्ष मण्डल रहेका भातृ तथा सुभेच्छुक संस्थाहरुलाई पनि सहभागी गराइएका कारण संख्या एक हजार माथि पुगेको हो।

गत वैसाख सात गते एकीकृत भएको राजपाको पहिलो पदाधिकारी बैठक साउन १८ गते भएको थियो भने केन्द्रीय समितिको पहिलो बैठक आजदेखि सुरु भएको हो।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेकै बखत संसदमा संशोधन प्रस्ताव प्रस्तुत हुने र त्यो पास वा फेल जे हुन्छ त्यसकै आधारमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने रणनीतिमा राजपा रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell