
पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर पहिलो साताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताएका छन्।
प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सकेसम्म छिटो प्रदेश र केन्द्रको निर्वाचन गर्ने विषयमा दलहरुबीच छलफल सुरु भएको बताए।
उनले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको बताए।
दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट पारे।