
शुक्रबारबाट बलिउड बादशाह शाहरुख खान स्टारर फिल्म 'जब ह्यारी मेट सेजल' सार्वजनिक भयो। किङ खानको नामैबाट फिल्म राम्रो अपेक्षा गरिनु स्वभाविक हो। तर त्यसो भएन। सार्वजनिक भएको पहिलो दिनबाट नै क्रिटिक्स एवं आम दर्शकले फिल्ममाथी नकारात्मक टिप्पणी गरिरहेका छन्। यसअघि बलिउडका अर्का स्टार सलमान खानको फिल्म ट्युबलाइट पनि बक्स अफिसमा राम्रो कलेक्शन गरेन। शाहरखको फिल्मको हकमा पनि उस्तै हुनु धेरैको अड्कल थिएन। तर स्टारको फिल्मको पहिलो दिन हलमा जम्मा ४०% अकुपेन्सी। जसले समिक्षात्मक साथै फिल्मको बक्सअफिस दुबै पक्षमा नकारात्मक प्रभाव पारेको प्रस्ट गर्छ।
रब ने बना दि जोडी, जब तक हे जान, ए दिल हे मुश्किल- सबै फिल्मले बक्सअफिसमा राम्रै प्रदर्शन गरे तर जब ह्यारी मेट सेजलमा शाहरुख र अनुश्का शर्माको जोडीले जुन तहल्का ल्याउथ्यो त्यो यसपटक गलत साबित भएको छ। फिल्मलाई इन्डियन एक्सप्रेसले पाँचमा जम्मा एक र आधा तारा दिएको छ। समिक्षक शुभ्र गुप्ताले फिल्म बारे लेखेका छन्,'एक शब्दमा फिल्म असफल प्रयास मात्र हो।'
ह्यारी (शाहरुख खान) युरोपमा रहेका इन्डियन टुरिस्ट गाइड हुन्छन्। त्यस्तै सेजलको रुपमा देखिएकी अनुस्का शर्मा आफ्नो हराएको औंठीको खोजीमा हुन्छिन्। उनीहरु भेटपछि सिर्जना हुने अवस्था फिल्मको मुख्य विषय हो। जसलाई युरोपको विभिन्न रमणिय स्थलहरुमा देखाइन्छ। जहाँ दुई मुख्य पात्र सेजलको औंठी खोज्न लागिपर्छन्। औंठीको बिम्बात्मक प्रयोगले दुई रोमान्टिक पात्रहरुको एकअर्काको खोजीको संज्ञा दिन्छ।
फस्टपोस्टमा समिक्षक स्वेता रामाकृष्णले जब ह्यारी मेट सेजल बारे लेखेकी छिन्,'शाहरुख र अनुस्काका फ्यानका लागि फिल्म ठिकै छ तर इम्तियाज अलीले आफ्नो फ्यानलाई निराश बनाए।'
हिन्दुस्तागन टाइम्समा फिल्मलाई पाँचमा २ तारा दिइएको छ। फिल्म विश्लेषक रोहित वत्सले शाहरुख खानलाई आफ्नै रोमान्टिक शैलीमा फर्कन खोज्नुले निराश बनाएको जनाए। उनले भने,'निर्देशक र स्टाररबाट जे अपेक्षा गरेर गएँ त्यो पाईंन। सायद तपाईले पनि पाउनु हुन्न।' २ घण्टा २४ मिनेट लामो फिल्मको संगीत समिक्षा पनि चित्त बुझ्दो आएको छैन।
इन्डिया टाइम्सले भने फिल्मलाई पाँचमा ३ तारा दिएको छ। समिक्षक मीना लायरले फिल्मले युरोप मजाले घुमाए पनि केही नभेटिने बताएकी छिन्।
इमताज अलीको निर्देशनमा बनेको फिल्ममा प्रचारका लागि कुनै कसर छाडेका थिएनन् शाहरुख र उनैले बलिउड डेब्यु गराएका शर्माले। प्रचारमा कुनै कसर नछाडे पनि बक्स अफिसले उनीहरुलाई वास्ता गरेन।
इन्डिया टूडेको समिक्षामा फिल्मलाई एक स्टार मात्र दिइएको छ। समिक्षक अनन्या भट्टाचार्यले लेखेकी छिन्,'तपाईंसँग भेट्न कोही पनि छैनन्। धेरै पैसा र समय छ भने फिल्म हेर्नुस्। हेरिसके पनि हामीले सचेत गराएनौं भन्ने दोष नदिनु।'